डा. नवराज सुब्बा

कक्षामा पढाउने प्रायः शिक्षक हुन् । गुरु ती हुन् जसले दिएको अर्तिले जीवनको बाटो हिड्दा स्वाभिमान चढिन्छ । गुरु ती हुन् जसले अवलम्बन गरेको जीवनशैलीमा आदर्श र जीवनको सत्य प्रकट हुन्छ । त्यसकारण मैले गुरुको परिभाषा केवल शिक्षक, प्रशिक्षकको साँगुरो दायराभन्दा बृहद जीवनयात्रामा भेटिने पात्रलाई समेत गुरु मान्ने गरेको छु । जनस्वास्थ्यलाई कसरी बुझ्ने भनेर व्यवहारमा सिकाउने अग्रज स्व. जनकदास श्रेष्ठलाई यहाँ अघि सार्दैछु ।
उनका बारेमा केही लेखौं भनेर सोचेको करिव डेढ दशक भयो । भोलि भोलि भन्दाभन्दै दिन गयो । त्यसलाई आज पूरा गर्दैछु । गाउँघरमा एउटा उखान छ– व्यवहार गर्दा म भोलि नै मर्छु भनेर गर्नु अनि पढ्दा म सधैँ बाँच्दछु भन्ठान्नु । पहिले कुरो बुझिएन । तर यो त एउटा जीवन दर्शन पो रहेछ । प्रस्तुत भनाइको गहिराई खोज्दा ब्यवहारिक अर्थ भेटिने रहेछ । हामीले आजको काम आजै पूरा गर्नुपर्दछ । ता कि भोलि आफूले गरेको काम आफै बोलोस् । आफू नभए पनि आफ्नो कामले आफै बोलिदेओस् ।
मानिसको जीवन मरणशील भएकाले आफूले गर्न चाहेको काम समयमै गर्नुपर्दछ भन्ने भनाइ ठिकै हो । किनभने सबै मानिसले एक दिन मरेर जाने नियति पालेका हुन्छन् । त्यसैले बाचुन्जेल एकअर्कासित मानवोचित व्यवहार गरौं भन्ने चेतना उक्त उखानमा भेट्न सकिन्छ । यो एक दार्शनिक भनाइ रहेछ । जसलाई हामीले विभिन्न कोणबाट हेर्न सक्दछौं । हामी त्यसबेला आफूलाई आध्यात्मनजिक पाउँछौं । ‘उहिलेका कुरा खुइले’ भनेझैं बुढापाकाका कुरा लत्याए घाटा आफैलाई हुन्छ ।
दुनियाँमा आज पढेलेखेका, जान्ने, गुन्ने मानिस कैंयौं छन् । विश्वविद्यालयबाट विभिन्न उपाधि लिएका विज्ञहरू छन् । कतिपयले विश्वविद्यालयमा पढाएका छन्, त्यहाँ पढ्ने अझ धेरैजना ज्ञानी भएर आउँछन् । तर तिनीहरू प्रायः आफूभित्रको ज्ञानलाई व्यवहारमा नल्याइकन संसारबाट विदा हुन्छन् । हामीले पढेर वा जानेर मात्र केही नहुने रहेछ । परिवार, समाज र जगतका लागि केही काम नगरी बित्यौं भने जीवन ब्यर्थ छ ।
जागिर खाँदै गर्दा कुरैकुरामा बा भन्थे – “नाथे पेट त कुकुरले पनि पाल्छ! जीवनमा केही गर्नुपर्दछ” । आफूलाई उसबेला आफ्नो र परिवारको पेट पाल्नै हम्मे होला जस्तो लाग्दथ्यो । सरकारी जागिरे जीवनमा निकै मेहनत गरेपछि करिव दुई–तीन दशकमा जब मैले दुई छाक टार्ने व्यवस्था गरें । तब मात्र मलाई बाका भनाइरुपी घाम मनका घैंटामा लागे जस्तो भयो । तब मलाई थाहा हुँदै गयो कि पेटपालोका लागि लिएको शिक्षा अधुरो शिक्षा रहेछ । अब जीवनमा कसरी सिर्जनात्मक काम गरेर गुणात्मक जीवन हासिल गर्ने भनेर सोच्न थालें ।
धेरै पछि मात्र महसूस भयो आफूमा भएको ज्ञानलाई व्यवहारमा उतार्ने मानिस कम हुँदारहेछन् । त्यसैले कम मानिस सफल हुनेरहेछन् । यस्ता सामान्य सैदान्तिक ज्ञान सानैदेखि थाहा नभएको होइन । यस्ता कुरा हामीले वाल्यकालदेखि विद्यालयमा पढ्यौं । यद्यपि यसको मर्म बुझ्न भने मलाई मेरो दाह्रीजुँघा नै फुल्नु पर्यो ।
सैद्धान्तिक ज्ञानलाई कहिले, कसरी उतार्नुपर्दछ, यो अहम् सवाल रहेछ । सिक्नलाई वातावरण पनि चाहिने रहेछ । पाएको शिक्षालाई जीवनको कर्मस्थलमा प्रभावकारी ढङ्गले सिकाउने मान्छे पाउनु पनि भाग्य कै कुरा हो । यही अवसर मैले एक जना अग्रज जनस्वास्थ्यविद् जनकदास श्रेष्ठबाट प्राप्त गरे ।
उनले मेरो दिमागको बत्ती बालिदिने काम गरिदिए । उनी भन्दथे– नवराजजी, संसारमा तपाईजस्ता जनस्वास्थ्य विषय पढेका मानिस कैंयौं छन् । उनीहरू विश्वविद्यालयबाट जनस्वास्थयमा स्नातकोत्तर वा एमपीएच पढेपछि आफूलाई जनस्वास्थ्य विज्ञ ठान्दछन् । उनको आशय थियो, असल जनस्वास्थ्यकर्मी हुनलाई आफूमा भएको ज्ञानलाई तत्काल, समयानुकूल कार्यान्वयनमा ल्याउनु पर्दछ । उनी भन्दथे, जो व्यक्तिमा ‘ड्राइभ पावर’ हुन्छ अर्थात् कार्यान्वयनमा लगाव हुन्छ उसले मात्र प्रतियोगिता जित्दछ । गफ गरेर मात्र हुदैन, मनमा तर्कवितर्क मात्र गरेर हुदैन देखिने गरी काम हुनुपर्दछ । यदि सिर्जनात्मक रचना हो भने त्यसलाई लेखेर प्रकाशमा ल्याउनुपर्छ । तब मात्र तपाईभित्र रहेको ज्ञानको सार्थकता हुन्छ ।
तपाई मनमनै केही कुरा गर्छु भनेर सोच्नुहुन्छ, त्यो राम्रो कुरा हो । त्यसलाई लेखेर, गरेर देखाएपछि मात्र जगतले देख्छ र बुझ्छ । अनि तपाईलाई मानिसले पढ्छन्, बुझ्छन् र दुनियाँले चिन्छ । यसरी व्यक्तित्व निर्माण हुन्छ र त्यसले तपाईको असली पहिचान बन्दछ ।
जनक सरको भनाइ मेरो मनमा गढ्यो । उनले दिएको शिक्षालाई मैले जीवनमा यथासम्भव उतार्ने प्रयास गरें । जनस्वास्थ्यका क्षेत्रमा यसलाई मैले मन्त्रकै रुपमा लिएँ । फलस्वरुप जिल्ला जनस्वास्थ्य कार्यालयका गतिविधिलाई प्रभावकारी, जनमुखी र पारदर्शी बनाउने प्रयत्न गरे ।
जनस्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन लेख, रचना पत्रपत्रिका, पुस्तकमा प्रकाशित गरे । रेडियो, टेलिभिजन अन्तर्वार्तामार्फत् सन्देश छर्ने प्रयास गरेँ । म कार्यरत जिल्ला जनस्वास्थ्य कार्यालयले देशमा पहिलोपटक एफएम रेडियोमा “समुदायको स्वास्थ्य कार्यक्रम जनस्वास्थ्य” रेडियो कार्यक्रम उत्पादन, प्रशारण गरेको थियो । रेडियो कार्यक्रमको अवधारणा र सामग्री चयनमा मैले कार्यदललाई परिचालन गरें । श्रोताहरूको पत्रहरूको आधारमा उक्त रेडियो कार्यक्रमले मोरङ जिल्लालगायत पूर्वाञ्चलका हिमाली, पहाडी जिल्लामा पनि सेवा पुर्याएको थियो । त्यसअघि जिल्लाको जनस्वास्थ्यलाई ब्यवस्थित गर्न तथ्याङ्क सङ्कलन कार्यलाई जोड दिएँ । त्यस क्रममा मैले जिल्लाको जनस्वास्थ्यको पाश्वचित्र प्रोफायल खोटाङ जिल्लाबाट २०५५ सालमा निकालें, जुन यस क्षेत्रमा पहिलो थियो । त्यस दृष्टान्तलाई पछि सरकारले सबै जिल्लाहरूमा लागु गर्यो । हरेक जिल्लाले वार्षिक कार्यप्रगतिको रुपमा जिल्लागत तथ्याङ्क प्रकाशित गर्नुपर्ने चलन त्यसपछि चल्यो । जेहोस्, एउटा राम्रो परम्पराको आरम्भ गर्नमा मैले प्रणाली भित्रैबाट सरकारलाई सकारात्मक दवाव दिएँ ।
जनस्वास्थ्य बाहेक अध्ययन अनुसन्धान र साहित्य सिर्जनामा पनि त्यही मन्त्रलाई मैले अनुशरण गरें । जीवनका हरसम्भव क्षेत्रमा पाएको अर्तीलाई व्यवहारमा उतार्ने प्रयास गरें । मैले कैंयौं वर्षदेखि लेखेर थन्क्याएका रचनालाई प्रकाशमा ल्याएँ । डायरीमा सीमित मेरा गीत, कवितालाई पुस्तकाकार कृतिका रुपमा निकालें । मनमा रहेका संस्मरणलाई पनि मैले सम्पत्ति मानेर लिपिवद्ध गरिदिएँ । यसरी मनमा उठेका भावनालाई तत्काल सिर्जनामा परिणत गरें । सिर्जनालाई संग्रहित पुस्तकका रुपमा प्रकाशन गर्न पाउँदा मेरो ज्ञान र अनुभव सार्थक भएको ठानें । आ… भोलि गर्छु वा जागिर खाइसकेपछि गरौंला नि, भनेर छाडेको भए बुढेशकाल अनुकूल हुनेथिएन । शरीर दुर्वल बन्दै जाँदा साहित्य सेवा प्राथमिकतामा नपर्ने सम्भावना बढी हुन्थ्यो । प्रतिकूल अवस्थामा मेरा रचना, सपना छेपाराको कथाका नियतिमा पर्ने संभावना थियो । क्रियाशील रहेको अवस्थामा प्राप्त अनुभव र ज्ञानलाई लिपिवद्ध गर्ने र त्यसलाई प्रकाशनमा ल्याउने काममा मैले त्यसपछि ढिलासुस्ती गरिन । त्यसैले कतिपय साहित्यकार मैले छिटोछिटो कृति प्रकाशन गरेको देखेर ईर्ष्या गर्ने गर्दथे ।
जेहोस्, श्रेष्ठबाट समेत उत्प्रेरित आत्मबलले मलाई जीवनमा सकारात्मक परिवर्तनको महसूस भयो । फलस्वरुप व्यक्तित्व विकासमा मद्दत पुग्यो ।
पूर्वाञ्थलको जनस्वास्थ्य क्षेत्रमा फर्कौ । हामीले पसिना बगाइरहेको जनस्वास्थ्य क्षेत्रलाई कसरी हेर्ने, बुझ्ने ! सही धारणा बनाउन यसलाई कसरी केलाउने? यस्ता अहम् सवालमा श्रेष्ठको धारणा प्रस्ट थियो । उनी जनस्वास्थ्य कार्यक्रमलाई अत्यन्त सूक्ष्म र आलोचनात्मक नजरले हेर्ने र केलाउने गर्दथे । स्वास्थ्यकर्मीका मौखिक सूचना भन्दा तथ्याङ्कलाई आधार मान्दथे । उनी तथ्यको गहिराइमा पुगेर अवलोकनबाट देखिएका गुणात्मक र दिगोपनमा विश्वास गर्दथे । छलफलमा उनी प्रायः तथ्याङ्कलाई अघि सार्दथे । त्यसैले उनका विचारलाई ध्यानपूर्वक सुनिन्थ्यो । उनको यही विशेषता र दक्षताले जनस्वास्थ्य क्षेत्रमा जनकदास श्रेष्ठ पथप्रदर्शकका रुपमा स्थापित भए ।
अन्यत्रझैं पूर्वाञ्चल क्षेत्रमा हरेक वर्ष स्वास्थ्य कार्यक्रमहरूको समीक्षा गोष्ठीमा हुने गर्दथ्यो । उक्त गोष्ठीहरूमा उनी प्राविधिक सवालमा सहजीकरण गर्दथे । उनी एक गैरसरकारी संस्था संयुक्त राष्ट्रसंघीय जनसंख्या कोशमा कार्यरत थिए । उनी क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटालाई प्राविधिक सल्लाह दिने गर्दथे । कार्यक्रम अनुगमन र योजना तर्जूमामा उनी सक्रिय भूमिका खेल्दथे । म क्षेत्रीय निर्देशनालयमा योजना तथा कार्यक्रम अधिकृतका रुपमा कार्यरत थिएँ । त्यहाँ रहँदा उनीसित उठबस भयो । फलस्वरुप औपचारिक, अनौपचारिक रुपमा गरिएका कुराले मनभित्र गहिरो छाप छाड्यो ।
मैले पढेको जनस्वास्थ्यका कोरा ज्ञानलाई यथार्थमा कसरी अनुवाद गर्नसकिने रहेछ भन्ने थाहा पाएँ । धनकुटामा रहँदा केही वर्ष क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तर्फबाट प्राविधिक रिपोर्ट तयार पार्ने जिम्मेवारी पाएको थिएँ । त्यसबेला मलाई उनले र उनका सहकर्मी डा. के के मिश्रले प्राविधिक परामर्श दिएका थिए । मैले त्यसबेला पूर्वाञ्चलको जनस्वास्थ्यको स्थितिलाई केलाउने राम्रो अवसर पाएँ । उक्त ज्ञानले मलाई पछि जिल्लामा गएर जिल्ला जनस्वास्थ्य कार्यालयको व्यवस्थापन कार्यमा सहयोग पुग्यो । श्रेष्ठको भनाइलाई मैले मनमा नलिएको भए जिल्लामा म सायद त्यत्तिकै हराउँथे होला । यद्यपि जिल्लामा काम गरेर एकहदसम्म देखाउन सक्षम भएँ । यसमा अग्रज श्रेष्ठको समेत योगदान रहेको थियो । त्यसमा श्रेष्ठ र के के मिश्रलाई म कृतज्ञता ज्ञापन गर्दछु ।
मलाई उनको जीवनमा घटेको एउटा सत्यले भने नराम्ररी घायल बनायो । करिव डेढ दशक पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयसित सहकार्य गरेर वर्षेनी सम्पन्न हुने वार्षिक, अर्धवार्षिक समीक्षा गोष्ठीहरूमा सहजकर्ताका महत्वपूर्ण भूमिकामा रहेका उनै जनकदास श्रेष्ठ सबैका सहयोगी थिए । पूर्वाञ्चलका १६ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालय, जनस्वास्थ्य कार्यालयमा कार्यरत प्राविधिकहरूका उनी मन मनमा थिए । म त्यसको एक साक्षी हुँ ।
एक साल उनको असामयिक निधन भयो । त्यो साल पनि निर्देशनालयले विराटनगरमा वार्षिक समीक्षा आयोजना गरेको थियो । त्यहाँ उनको भौतिक उपस्थिति अब रहेन । म मनमनै उनको अनुपस्थितिमा दुःखित थिएँ । जिल्लाको एक सहभागीको रुपमा म उपस्थित थिएँ । मलाई आश्चर्य केमा भयो भने, त्यसबेला आयोजक संस्था क्षेत्रीय स्वास्थ्य निर्देशनालयले उनलाई औपचारिक तथा अनौपचारिक रुपमा सम्झेन । उनलाई स्वास्थ्य सेवा विभाग, मंत्रालय तथा १६ जिल्लाका सहभागी कसैले एक सहकर्मीलाई सम्झिन आवश्यक ठानेनन् । कुनै पदाधिकारीले गोष्ठीमा स्वर्गीय जनकदास श्रेष्ठलाई सम्झिएनन् श्रद्धाञ्जली व्यक्त गरिएन । क्षेत्रीय स्वास्थ्य निर्देशनालय जो गोष्ठीको आयोजक संस्था थियो उसले गोष्ठीमा श्रेष्ठको योगदान सम्झेर श्रद्धाञ्जली दिन सक्दथ्यो । के हामी मेसिन भयौं? हामी मानव रहेनौं र? मलाई हाम्रो शैली देखेर आफैलाई धिक्कार लाग्यो ।
हिजोसम्म जसको बोलीलाई सहभागीले गम्भीरतापूर्वक सुन्दथे आज उनको मृत्युमा औपचारिक, अनौपचारिक सोधीखोजी गरिदैन । त्यस्तो अमानवीय दृश्य देखेर मलाई सारै नरमाइलो लाग्यो । बुझें, आज हामी यसरी जति चुरीफुरी वा फाइँफुइँ गर्दैछौं, भविश्यमा हामीलाई कसैले नसम्झने रहेछन् । मलाई त्यस्तो भावना र ज्ञान प्रकट भयो । म मनमनै एकप्रकारको हतोत्साही भएँ । यो भाव मनमा यति खेल्यो कि अब मलाई यो जागिरे जीवन केही रहेनछ जस्तो लाग्न थाल्यो । मैले जागिर वा सेवा जे भने पनि त्यो केवल आफू छउञ्जेल मात्र रहेछ ।
परिवारलाई खान, लाउन, पढाउन नपुग्ने सरकारी तलब देख्दा देशको लागि काम गरेको भनेर चित्त बुझाइयो । जीवनमा खाउँ खाउँ लाउँ लाउँ भएको बेलामा सरकारी जागिरको बहानामा सधैं अभावको जिन्दगी बिताइयो । अब त यही अभावै अभावमा बाँच्ने बानी पनि परिसक्यो । तीन दशक घोटिँदा घोटिँदा दुई छाक खाने, ओत लाग्ने ब्यवस्था गरे । यहाँभन्दा बढी महत्वकांक्षा एउटा जागिरेको के नै हुन्छ र । मलाई थाहा भयो, मैले जागिर केवल आफ्नै लागि खाएको रहेछु । भयो अब पुग्यो । आर्थिक रुपमा एउटा मध्यम स्तरको नेपाली नागरिकले जिउने जीवन जिउन पाएकोमा म सन्तोष र गौरव मान्दछु ।
मनमा यस्तै कुरा खेल्न थाले । जागिरे जीवनमा मैले उर्जा मानेको व्यक्तिको स्वभाविक निधनमा मेरो मनभित्र अस्वभाविक भूइँचालो गयो । मेरो जागिरलाई मैले त्यसपछि अर्कै दृष्टिले हेर्न थाले । अब अनुकूल पारेर सेवानिवृत्त हुने टुङ्गोमा पुगें । हुन त जन्म, मृत्यु भनेको जीवनमा घट्ने सामान्य घटना हो । तर श्रेष्ठको शून्यताले मनमा अप्रत्याशित भावनात्मक ज्वारभाटा उत्पन्न गरायो । त्यसबेला लागेको घाउलाई मलमपट्टी गर्न उनको बारेमा दुई शब्द कोर्ने अठोट गरेको थिएँ । त्यो चाहना पूरा हुन पनि झन्डै डेढ दशक लाग्यो।
हामी मानिस कत्ति स्वार्थी जाती रहेछौं, म यही सोचमा परें । जनस्वास्थ्य क्षेत्रमा उनलाई चिन्ने आज एकसेएक जानिफकार छन् । तर, अग्रजलाई सम्झनासम्म गर्ने फुर्सद र चलन छैन । तुलनात्मक हिसाबले साहित्य जगतमा कुनै कृति वा व्यक्तित्वलाई कमसेकम सम्झना गर्ने गरिन्छ । यो राम्रो कुरो हो । साहित्य क्षेत्रमा दुई–चार पुस्तक लेखेपछि चर्चा हुन्छ । तर जनस्वास्थ्य क्षेत्रमा जति योगदान दिए पनि उसको नाम आउँदैन । त्यो देखेर मलाई नमज्जा लाग्यो । आज विकासका क्षेत्रमा योगदान दिने व्यक्तिको सम्झना गर्ने चलन छैन । यसमा कलमको ध्यान जान जरुरी छ । यसरी अनाम भएका सूचीमा समाजले भुल्नै नहुने कैयौं नाम छन् । यो लेखकहरूको निम्ति पक्कै चुनौति हो ।
हाम्रो देशमा पढेलेखेका दिग्गज, प्राविधिक, प्रशासक, व्यवस्थापक, जानकार मजदूर, किसान, कुशल गृहिणीका मनमा पर्याप्त ज्ञान र शीप छन् । तीमध्ये धेरै जसोले म यसो गर्छु, उसो गर्छु भनी मनमनमा योजना बनाउँछन् । यद्यपि कार्यान्वयन भने यो वा त्यो बहानामा गर्दैनन् । त्यस्ता धेरै विज्ञ, ज्ञानी मानिसका ज्ञान र शीप उभित्रै सीमित रहन्छ । त्यो सदुपयोग हुनै नपाइ एक दिन उसितै विलिन भएर जान्छ ।
थोरै मानिसले मात्र अठोठ गरेका योजना कार्यान्वयन गर्दछन् । तीमध्ये बहुसंख्यकले बीचैमा अधुरै छाड्छन् । नगन्य संख्यामा मात्र क्षमताको पूरा उपयोग गर्ने गरिन्छ । श्रेष्ठको जोड यहीँनेर थियो । मानिसमा ज्ञान र शीप मात्र भएर हुँदैन । पहिलो कुरो, उभित्र राम्रो सोंच वा योजना हुनुपर्दछ । योजना बनेर मात्र हुँदैन, त्यसको कार्यान्वयन र नतिजा देखिनुपर्दछ । गुणस्तरीय सेवाको आधारमा मानिसले कार्यक्रम र स्वास्थ्यकर्मीको मूल्याङ्कन गर्दछन् । त्यसैले राम्रो काम आज अहिल्यै थालिहाल्नुपर्दछ वा गरिहाल्नुपर्दछ ।
स्व. जनकदास श्रेष्ठ, मेरा गुरु जसले मलाई जीवनमा अघि बढ्ने दृष्टि, ज्ञान र आत्मबल दिए । म उनको ज्ञान र धारणालाई शिरोपर गर्दछु ।
गुरुको भनाइमा अलिकति के थप्न चाहन्छु भने, अघि बढ्नलाई हरेक मानिसमा आत्मविश्वास पनि चाहिन्छ । आत्मविश्वास भएन भने नतिजा के हुने हो भनेर सम्भावित नतिजाको डरले मानिस पाइला चाल्न हिच्किचाउँछन् । आफैप्रति विश्वास नभएर मानिस अलमल र बहानाबाजी गर्ने गर्दछन् ।
आत्मविश्वास त्यसै प्राप्त हुदैन, त्यो अध्ययन, अनुसन्धान, परीक्षण र अभ्यास वा प्राप्त अनुभवले मात्र हासिल हुन्छ । अतः जीवनमा ज्ञान, शीप, आत्मविश्वासका साथ तत्काल पहलकदमी हुनुपर्दछ । तब मात्र हाम्रा असीमित सपना एक दिन विपनामा परिणत हुनेछन्।
(‘सिक्काका दुवै पाटा’ लेखनिबन्धसंग्रहबाट)
लेखककाे अफिसियल वेभसाइट https://nrsubba.com.np